दृष्टिविहीन श्रष्टा सम्मानका लागि सिक्का अभियान

१. परिचय

नेत्रहीन महिला संघ, नेपाल विस २०५४ सालदेखि नै नेपाल नेत्रहीन संघको एक महिला समितिको रूपमा संगठित हुँदै २०६७ सालमा आएर विधिवत् स्थापित भई दृष्टिविहीन महिलाको हक, हित र अधिकारका लागि कृयाशील एक सामाजिक र गैरनाफामुलक गैरसरकारी संस्था हो । यस संस्थाले दृष्टिविहीन महिलाको शिक्षा, स्वास्थ्य, तालिम, कानुनी सुरक्षालगायत राजनीतिक, सामाजिक मुद्दाहरूलाई अधिकारमा आधारित भई उठान गर्ने, मुद्दाको संबोधन गर्नका लागि सचेतना र पैरवी गर्दै आइरहेको छ । यस संस्थाले दृष्टिविहीन  महिलाको जनचेतना स्तर बृध्दि गर्न सचेतनामुलक कार्यक्रम गर्नुका साथै नेतृत्व विकासका माध्यमबाट उनीहरूलाई सशक्त, सचेत र सवल नागरिक बनाउने कार्य गरिरहेको छ । दृष्टिविहीन महिलाद्वारा संचालित र प्रवर्धित संस्था भए पनि समग्र अपाङ्गता भएका महिलाको मुद्दालाई यो संघले रणनीतिक रूपमा अगाडि बढाइरहेको छ  भनी दावी गर्न सकिन्छ ।

अपाङ्गता भएका ब्यक्तिहरूमा भिन्न भिन्न प्रतिभा, क्षमता एवं दक्षता रहेको कुरा आमसमाजमा रहेका ज्वलन्त उदाहरणहरूबाट प्रस्टिरहेको छ । यस्ता उदाहरणीय ब्यक्तिहरूमा विगतका बाबुराम आचार्य, पारिजात र गणेशलालदेखि लिएर हालसम्मका झमककुमारी घिमीरे, इश्वर अमात्य, मधुबाबु थापा, रस्मी खरेललगायतलाई सम्झन सकिन्छ । यसबाहेक पनि यो मुलुकमा अवसर, सुचना र प्रेरणाको अभावमा सुसुप्त रहेका र पर्दा अगाडि आउन नसकेका श्रष्टाहरूको संख्या सायदै अधिक हुन सक्छ । यी सबै प्रतिभाहरूको खोजी र सम्मान गर्दै कालान्तरमा सर्जकहरूको आश्रमस्थल निर्माणसम्मको परिकल्पना गर्न “दृष्टिविहीन श्रष्टाका लागि सिक्का अभियान” को सुरुवातका लागि कार्यविधि बनाई कार्यान्वयन गर्न खोजिएको छ ।

२. औचित्य

एक दिन, रविन्द्र मिश्रबाट लिखित “खान पुगोस्, दिन पुगोस्” भन्ने निबन्ध पढेपछि यस संघका संस्थापक उपाध्यक्ष चिरिमाया महर्जनलाई मनमा यस्तै अभियान चलाएर दृष्टिविहीन कलाकारको सम्मान गर्न सकिने र कालान्तरमा दृष्टिविहीन सर्जकका लागि आश्रमसम्म बनाउन सकिने इच्छा जाग्यो । यो प्रस्ताव उनले संघका साथीहरूसँग राखिन् र यो अभियान संचालन गर्न कार्यविधि निर्माणका लागि यो अवधारणापत्र तयार पारिएको छ ।

नेपालमा अपाङ्गता भएका कलाकारहरू कति छन् र ती के के विदामा राष्ट्रलाई योगदान गरिरहेका छन् भन्ने कुनै तथ्यांक छैन । त्यसमा पनि दृष्टिविहीन कलाकारहरूको विषय अझ गौण रहेको छ भने महिला कलाकार त झन् कुहिरोको काग जस्तै हराइरहेका छन् । यस्ता कलाकारहरूको प्रतिभा र क्षमतालाई केलाउन सक्नुपर्छ । किनकी संघर्षकै कुरा गर्ने हो भने नेपालमा हरेक पक्षबाट सांग कलाकारलाई समेत आँफूलाई स्थापित गराउन लामो संघर्षका पाइला चाल्नुपर्छ । यो कल्पना गरौं कि कलाकार बन्नका लागि दृष्टिविहीन ब्यक्तिहरूको संघर्ष कति कठिन र संगीन हुन्छ । तथापी यस्ता ब्यक्तित्वहरूलाई उत्प्रेरित गर्न कुनै पनि गैसस, सरकारी वा निजी संस्था वा व्यक्ति कसैको पनि ध्यान पुगेको छैन । त्यस्ता प्रतिभाको जगेर्ना, प्रोत्साहन गर्न कुनै वर्गीय संघसंस्था पनि लागेको पाइदैन । तसर्थ दृष्टिविहीन कलाकारहरूको प्रतिभालाई सजीव तुल्याउन र उनीहरूलाई सोही मार्गमा अगाडि बढाइ राख्न यो अभियानले  थप सहयोग पुग्नेछ । त्यसैगरी यसलाई मूर्त रूप दिँदै गएमा सर्जकहरूका निम्ति आश्रमसमेतको स्थापना हुने लक्ष्य पनि यस अभियानले लिएको छ । यसका लागि सबै शुभेच्छुकहरूको न्यानो साथ, सबै कलाप्रेमीहरूको सहयोगी हात र उदार मनको खाँचो अभियन्ताहरूले गरेका छन् । आफ्नो दैनिकीबाट सिक्का उभारेर यस अभियानलाई सार्थक बिन्दुमा पुर्याउनु हुनेछ भन्ने कुरामा यो संघ सबैसँग विश्वस्त छ ।

३. उद्देश्यहरू

यस अभियानका मुख्य उद्देश्यहरूलाई देहायका बुँदाहरूमा प्रस्तुत गर्न सकिन्छ :

  • दृष्टिविहीन कलाकारहरूको प्रतिभा प्रस्फुटनका लागि उत्प्रेरित गर्नु,
  • दृष्टिविहीन कलाकारहरूको सम्मान अर्थात् कदर गर्ने परिपाटिको थालनी गर्नु,
  • दृष्टिविहीन सर्जकहरूको साधनास्थलको रूपमा आश्रमको निर्माण गर्नु ।

४. प्रकृया

सिक्का अभियानलाई संचालन गर्नका लागि विभिन्न प्रकृयाहरू अवलम्बन गरिनेछ

  • नियमित रूपमा सिक्का संकलन
  • छुट्टै बैंक खाता संचालन
  • अभियान संचालनका लागि केन्द्र, जिल्ला र समुदायस्तरमा एक-एक समितिको गठन
  • संकलित सिक्काको रेकर्ड र व्यवस्थापन
  • आवश्यकतानुसार बैठक संचालन
  • निर्णयहरूको कार्यन्वयन ।

५. समितिको ढाँचा

केन्द्रस्तर :

  • नेत्रहीन महिला संघ नेपालका संस्थापक उपाध्यक्ष श्री चिरिमायाँ महर्जन – संयोजक
  • नेत्रहीन महिला संघको कोषाध्यक्ष पदेन – सदस्य
  • समाजसेवीहरूमध्ये नेत्रहीन महिला संघ नेपालबाट मनोनीत एक जना – सदस्य
  • दृष्टिविहीन व्यक्तिहरूमध्ये नेत्रहीन महिला संघ नेपालबाट मनोनीत दुई जना – सदस्य

यस समितिको कार्यादेश नेत्रहीन महिला संघ नेपालले तयार गर्ने र जिल्ला र समुदायस्तरको समितिको गठन र कार्यादेशको व्यवस्था केन्द्रस्तरको समितिले ‍आवश्यकताअनुसार मिलाउँदै जानुपर्नेछ ।